Nepali poetry - Mirror and eyes -by poet Purna Biram ऐना र आँखा -पूर्ण विराम
ฝัง
- เผยแพร่เมื่อ 26 ธ.ค. 2024
- Mirror and eyes -by poet Purna Biram
ऐना र आँखा -पूर्ण विराम
Nepali poem
नेपाली कविता
ऐना र आँखा
सडकबाट होइन मनबाट भीड हट्यो
बाटोबाट होइन आँखाबाट एउटा लामो हूल हट्यो
जेलोस हट्यो आज दृष्टिबाट
नक्कली तानबाट आज औंला हट्यो
उभियो एकान्त जीवन रहेसम्म साथ दिन्छु भन्दै
साच्चै -साच्चै आज कोलाहल हट्यो
नारा तारा सबै हट्यो
बाँकी रह्यो एकान्त सिङ्गो लामो भ्रम हट्यो
चल्यो ओठ चल्यो जिब्रो एउटा कथा आरम्भ गर्यो
मानिस एक्लो -एक्लो मानिस
एउटा कथा प्रारम्भ गर्यो
एउटा यथार्थ आरम्भ गर्यो
चराका पखेटाहरू काटेर र मैन सापटी मागेर
उडिरहेका इक्यारुसहरू धरतीबाट एक इन्च माथि उडलान्
कसैको दुःखमा रुने कि नरुने भन्ने
आदेश माग्न लम्किरहेका फौ-बन्जारहरू
उठ्लान् एउटा भीडको आँखाबाट
केही प्रयोजन देखिदैन उभिएको एकान्तबाट
स-साना गेगरका लामहरू चुठ्लान् हतार -हतार
डुँडहरूमा र दगुर्लान् सहिद हुन
सहिद हट्यो आँखाबाट तमाशा हेर्न आएको
छातीमा गोली लाग्दा सहीद भयो भन्ने घोषणा हट्यो उभिएको एकान्तमा
यस्तो किसिमको सहिद र घोषणा हट्यो
जङ्गली बँदेलहरू जसलाई थाहा छैन कुमुदिनीको अर्थ
र थाहा छैन गोबरको गुफामा पसेपछि
आफूलाई कुन दृष्टिले हेर्छन् यस्तो कुरा थाहा छैन
जङ्गल घुम्यो जङ्गल पस्यो
सदावहार जङ्गल पनि छ थाहा छैन
डमरूका हातहरूमा तमन्चाहरू छन्
आफूहरू खालीहात छन् थाहा छैन
बँदेल हट्यो एउटा जङ्गल हट्यो
आज एकान्तमा एउटा कथा बन्यो
एउटा यथार्थ बन्यो एकान्तमा -
मानिस एक्लो -एक्लो मानिस
एउटा भीडले लगाइदिएको चस्मा आज आँखाबाट खस्यो
खल्तीबाट होइन मिनारबाट होइन मेरो मनबाट
एउटा जाली रुमाल खस्यो
बस्यो पस्यो धूवाँको चुरामा आज एकान्त पस्यो
एकान्त भित्र बस्यो -बस्यो
आज एउटा कथा बस्यो
आज एउटा यथार्थ पस्यो
मानिस एक्लो -एक्लो मानिस
जहाँ विपना नै रङ्गिएको छैन रगतले सिम्रिकले
हजारौं कुमुदिनीहरू झाक्रो फिजाइरहेका छन्
बाँधिरहेका छन् टाउकोमा झपेत्रीहरू
यहाँ पूजा योग्य भएर कुनबेला बकपत्र लेखिएको छ
म सपना देख्न सक्दिन आँखा खोल्ने बितिक्कै
देखिने धर्साका रङ्गहरूमा रङ्गाएर
मगज धातुको होइन मिनाकारीहरू
घनले नहान बेल्चाले नहिर्काऊ
नभन सपना भर्खरै जन्मेको दिवाकरको
रङ्गमा रङ्गयाएर देख
यस्तै सपना देख्नु पर्छ भन्ने
एउटा बग्गी सडकबाट होइन
आज मेरो अवयवबाट खस्यो
एउटा खच्चर गोरेटोमा होइन
आज मेरै जीउबाट खस्यो
उभियो एकान्त बिना घाम
भन्यो नसोधी मेरो नाम
मानिस एक्लो -एक्लो मानिस
हिउँहरूले के जानेका हुन्छन् पग्लिदिनु र
पग्लिनु अगाडि गोडाहरू भाँचिदिनु
जानेका हुन्छन् के औलोको रोगीहरूले
चिराइतो सिवाय अन्य चाटेर पनि
रोग मुक्त हुन सकिन्छ भन्ने बारेमा
पग्लिनु हिउँहरू पग्लिनु अगाडि भाँचिदिनु
म जस्तो मानिसको मन भाँचिएर के हुन्छ मानिसको मन
मानिस एक्लो -एक्लो मानिस
खगोलबाट होइन आँखाबाट आज दुई थोपा पानी खस्यो
आँगनमा होइन कोठामा होइन आफ्नै गालाको बाटो हुँदै
आफ्नै छातीभित्र पस्यो
पानी पस्यो छातीभित्र र एकान्त उभियो
एकान्त बक्यो खराखर मानिस एक्लो -एक्लो मानिस
मलाई कसैले उचालेर अगिनबोटमा राखिदिनु हुन्न
र किनारामा पुर्याइदिन्छु भन्ने बिचार राखिदिनु हुन्न
एकान्त एउटा किनारा बनाएर भर्खरै मेरो आँखाबाट हिड्यो
सबै -सबै किनारामा पुग्छन्
मानिस एक्लो -एक्लो मानिस
भर्खरै मेरो आँखाबाट आज एकान्त हिड्यो
एउटा साउती पोखेर हिड्यो
मानिस एक्लो -एक्लो मानिस
चल्यो ओठ चल्यो जिब्रो भीड किन हूल किन
किन गोहीको आँसु
किन रगतका नाताहरू
किन भेट्दै गर्नोस् - वाहियात बाक्यांशहरू
किन जीवन हो सहनु पर्छ
बकबकाउँछन् प्लास्टिकका ओठहरू
एक्लो मानिस - मानिस एक्लो
केवल एक्लो -एक्लो मानिस
000000000000000000
रचना स्थान -कालोपुल काठमाडौं 30 नेपाल 3